युवा व्यवसायीको ‘बारी’ ब्रान्ड, होटल छाडेर कफी खेती, प्रशोधनसँगै निर्यात गर्दै

विराटनगर। विराटनगरको एउटा होटल कोभिड-१९ महामारीका बेला २०७७ असोजमा बन्द भयो। पिता युवराजको लगानी र परिश्रम सिञ्चित ‘होटल नमस्कार’ बन्द गर्नुपर्दा छोरा युनेश श्रेष्ठ खुसी भने थिएनन्। २०३७ मा खुलेको होटलको भवन एकातिर निकै पुरानो भइसकेको थियो, जसलाई मर्मतमै निकै ठूलो खर्च लाग्थ्यो, अर्कातिर कोभिडको समस्या छँदै थियो । त्यसैले उनले होटल बन्द गरेका थिए।

केही नगरी बस्न नसक्ने युनेशलाई इलाममा कफीखेती गर्ने चाहना थियो। होटलबन्द उनका लागि अवसरका रूपमा थियो। इलाममा उनी समझदार साझेदारको खोजीमा थिए। त्यस बखत उनी पूर्वमा इटालियन लवाजा ब्रान्डको कफी मेसिनका एक मात्र आपूर्तिकर्ता र वितरक पनि थिए।

धनकुटाको पर्यटनक्षेत्र भेडेटार बजारमा उनको कफी मेसिन सञ्चालनमा थियो। त्यस बेला उनी धनकुटा र काभ्रेपलान्चोकमा फलाइएको कफी खरिद गरेर त्यसलाई ‘बारी’ ब्रान्डमा प्रोसेसिङ र ब्रान्डिङ गरेर बिक्री गरिरहेका थिए। तर, आफैंले कफी उत्पादन गर्ने हुटहुटी झनै जागृत भइरहेको थियो।

युनेश लकडाउनका बेला ‘बारी’ कफीको मार्केटिङका लागि एक दिन भेडेटार पुगेका थिए। यही क्रममा आफैंले सप्लाई गरेको कफी मेसिन भएको पसलमा बसेर उनले कफी पिए र एकछिन गफिए।

पसलेसित गफिँदागफिँदै कफी खेतीको कुरा उठ्यो। युनेशले सोधे, ‘यहाँ कफी खेतीको फर्म कतै होला?’
‘माथि डाँडाबजारमा दुर्गा लिम्बू नामका एक किसान हुनुहुन्छ। उहाँले कफीको फार्मिङ गरिरहनु भएको छ,’ पसलेले तत्काल जबाफ दिए।

यसपछि युनेश दुर्गालाई खोज्दैखोज्दै भेडेटारभन्दा १७ किलोमिटर पूर्वको डाँडाबजारतिर हानिए। सोद्धैजाँदा दुर्गाको फर्म फेला पर्‍यो। सुन्तला बगैँचासँगै कफीखेती गरिएको। दुर्गा फर्मभित्रै थिए।

धनकुटाको डाँडाबजार चिसो ठाउँ। हरिया पहाडले भरिएको। सुन्दर र रमणीय स्थान। युनेश र दुर्गाको वार्तालाप सुरु भयो।
नेपाली सेनाबाट निवृत्त भएपछि दुर्गाले काठमाडौँमा कफीखेतीको प्रशिक्षण लिएछन्। अनि आफ्नै थातथलो डाँडाबजारमा आएर सानो आकारमा खेती गरिरहेका।

‘कागती र सुन्तलाखेती सँगसँगै कफीखेती गर्ने हो भने यस्तो कफीको स्वाद ‘युनिक’ प्रकारको हुन्छ। यसमा कफीको अर्ग्यानिक फ्लेवर त हुन्छ नै, कागती वा सुन्तलाको सिट्रस फ्लेवर पनि मिसिएको हुन्छ। यस्तो कफीको गुणस्तर राम्रो र स्वादमा पनि उत्तम हुन्छ,’ दुर्गाले युनेशलाई सुनाए।

कफीको विरुवालाई शीतबाट बचाउनु पर्छ। यस्तो खेतीमा कागती र सुन्तलाका बोटले शीतबाट मात्र बचाउँदैनन्, आफ्नो फ्लेवर पनि कफीलाई दिन्छन्।

दुर्गा लिम्बू र युनेश श्रेष्ठ ।

कुरा सुनेर युनेश उत्साहित भए र सँगै मिलेर काम गर्ने प्रस्ताव राखे। दुर्गाले पनि एकै वचनमा ओके गरिदिए। प्रमुख लगानी युनेशले गर्ने र खेतीको काम दुर्गाले हेर्ने समझदारी बन्यो।

यसपछि सन् २०२१ देखि युनेश र दुर्गाको साझेदारीमा समुद्र सतहदेखि ११ सयदेखि १५ सय मिटर माथिको डाँडाबजारमै ६० रोपनी जमिनमा कफीखेती सुरु भयो। सन् २०२५ मा आइपुग्दा श्रेष्ठ र लिम्बुले यस खेतीलाई २०० रोपनी पुर्‍याएका छन्।

एक रोपनी जमिनमा १०० बोट कफी रोप्न सकिन्छ। यस हिसाबले उनको फार्मिङमा अहिले ६ हजार बोटले उत्पादन दिइरहेका छन्। यसबाट वार्षिक १० टन कफीको उत्पादन भइरहेको छ। दुई सय रोपनीको उत्पादन आउन थालेपछि यसको तथ्यांकमा अझै वृद्धि हुने श्रेष्ठ र लिम्बुको भनाइ छ।

दुवै साझेदारको लक्ष्य छ, आगामी ५ वर्षभित्र सिट्रस फ्लेवरको कफीखेतीलाई १ हजार रोपनीमा विस्तार गरिसक्ने।

‘समस्या बाँदरको छ । जंगलका बाँदर आएर बालीनाश गर्दा रहेछन्,’ उनीहरूको गुनासो छ।

अहिले उनीहरू आफ्नै ‘बारी’ ब्रान्डमा सिट्रस फ्लेवरको ‘सिंगल ओरिजिन कफी’ निर्यात गरिरहेका छन्। एउटै खेतीमा उत्पादित एउटै फ्लेवर र टेस्टको कफीलाई सिंगल ओरिजिन कफी भनिन्छ।

‘त्यसो त, हामीलाई नेपालमै सप्लाई गरेर भ्याइनभ्याई छ। भारतको निम्न गुणस्तरको कफी पनि प्रशस्त भित्रने गरेको छ र नेपालको उत्पादन भनेर बिक्री भइरहेको छ। कतैबाट नियमन र अनुगमन छैन। यसलाई रोक्न सरकारले काम सुरु गरिहाल्नु पर्छ,’ युनेशले भने ।

उनका अनुसार नेपालमा कफीको गुणस्तर परीक्षण र प्रमाणीकरण गर्ने आफ्नै प्रयोगशाला नहुँदा निर्यातमा समस्या परेको छ। यसले गर्दा जहाँ निर्यात गर्नुपर्ने हो, त्यही देशमा नमुना पठाएर गुणस्तर परीक्षण गराएर प्रमाणीकरण गर्नुपर्ने बाध्यता छ।

प्रदेश सरकारले इलाममा चियाको प्रयोगशालाको स्थापना गरेको उदाहरण दिँदै कफीका लागि पनि त्यस्तै प्रयोगशाला सहितको गुणस्तर प्रमाणीकरण कार्यालय आवश्यक भएको युनेश बताउँछन्।

‘गुणस्तरका हकमा युरोपियन मुलुकको छुट्टै मापदण्ड छ, अनि अमेरिका र खाडी राष्ट्रको पनि बेग्लाबेग्लै। अस्ट्रेलिया पठाउन त साह्रै चर्को छ। जापानमा निर्यातको प्रयास गरिरहेका छौं। त्यहीँका बिचौलियाले उतैबाट प्रमाणीकरण गराउने प्रक्रिया अघि बढाएका छन्,’ उनी सुनाउँदै थिए।

उनले ‘बारी’ ब्रान्डको कफी जापान, अमेरिका र दुबईमा निर्यात गर्न नमुना पठाएको जानकारी दिए। खेती धनकुटाको डाँडाबजारमा भए पनि युनेशले यसको प्रशोधन र प्याकेजिङ काठमाडौंमा गरिरहेका छन्। डाँडाबजारमा कफीका दाना सुकाउने काम मात्र हुन्छ। यसलाई रोस्ट, प्रशोधन र प्याकेजिङ गर्ने सबै काठमाडौंमै भइरहेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Shopping Cart